विदेशमा रहेका र गैरआवासीय नेपालीलाई मताधिकार दिनेबारे अध्ययन गर्न समिति


विदेशमा रहेका नेपालीलाई

मताधिकारको सम्भाव्यता अध्ययन गर्न निर्वाचन आयोगले समिति गठन गरेको छ । रोजगार तथा अध्ययनलगायत प्रयोजनका लागि विदेशमा रहेकाहरूलाई पनि मताधिकार दिनुपर्ने माग बढिरहेका बेला आयोगले अध्ययन समिति बनाएको हो ।

आयोगका सचिव शंकर कोइरालाको संयोजकत्वमा गठित सात सदस्यीय समितिमा गैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछाने, अर्थ मन्त्रालयका सहसचिव राजन खनाल, गृहका भोला शिवाकोटी, परराष्ट्रका अर्जुनबहादुर थापा, कानुनका राजुमानसिंह मल्ल सदस्य र आयोगका सहसचिव शारदाप्रसाद त्रिताल सदस्यसचिव छन् । आयोगले समितिलाई यससम्बन्धी अध्ययन गरी सिफारिस र त्यसको कार्यान्वयनका लागि कार्ययोजना प्रस्ताव गर्न निर्देशन दिएको छ । समितिले मतदान तथा मताधिकारसम्बन्धी नेपालको वर्तमान अवस्था, अन्य मुलुकहरूमा गैरआवासीय नागरिकलाई प्रदान गरिएको मताधिकार प्रकृति, आवश्यक नीतिगत तथा कानुनी व्यवस्थाबारे प्रतिवेदन तयार पार्नुपर्ने आयोगका सहसचिव तथा प्रवक्ता त्रितालले जानकारी दिए ।


© 2006 Namaste Europe. All Rights Reserved.