३ लाख डलर लुटपाट प्रकरणमा एआइजी कल्याण तिम्सिनासँग प्रष्टीकरण माग
[ 5th of March ]
चिनिया व्यापारीसँग ३ लाख डलर लुटेको घटनामा संलग्न भएको आरोपमा प्रहरी प्रधान कार्यालयले एआइजी कल्याण तिम्सिनालाई प्रष्टीकरण दिन पत्र पठाएको छ। महानगरीय आयुक्त रहेका तिम्सिनालाई यो घटनापछि प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रमुखमा सरुवा गरिएको थियो।
प्रहरी प्रवक्ता विज्ञानराज शर्माका अनुसार उनलाई यस घटनामा देखिएको संलग्नताका लागि आफ्नो भनाइ राख्न प्रष्टीकरण पत्र पठाइएको हो।
४ महिनाअघि चिनिया व्यापारीसँग ३ लाख डलर लुटेको अभियोगमा २ प्रहरी जेलमा छन्। यस घटनाबारे डिआइजी राजेन्द्रमानसिंह भण्डारीको अध्यक्षतामा छानबिन समिति गठन भएको थियो। २ महिनाअघि नै तिम्सिनासमेत दोषी भन्दै समितिले प्रतिवेदन बुझाइसकेको छ। तर उक्त प्रतिवेदन सार्वजनिक भने भएको छैन।