वीरगन्ज तनावग्रस्त, वाइसीएल केन्द्रीय सदस्य घाइते

[ 6th of May ]

बन्द गराउन खोज्ने माओवादी कार्यकर्ता र त्यसको अवज्ञा गर्ने समूहबीच झडप भएपछि बीरगन्जको घडिअर्वा तनावग्रस्त भएको छ । प्रतिकारमा उत्रिएका स्थानीयले आदर्शनगरचोकमा माओवादी कार्यकर्ताहरुका लागि खानाको ठेक्का लिएको कम्पनीको बा २ च ५६८० नम्बरको जीपमा आगजनी गरेका छन् । उनीहरुले नगरसभा गृहमा सन्चालित माओवादी कार्यकर्ताहरुको मेसस्थलमा तोडफोड र आगजनी गरेका छन् । त्यहाँ रहेका केही माओवादी कार्यकर्ताहरुलाई उनीहरुले कुटपिट पनि गरेका छन् ।

माओवादी कार्यकर्ताहरुले घडीअर्वामा खुलेको चिया पसल बन्द गराउन खोजेपछि स्थानीयवासी तनाव उत्पन्न भएको हो ।

बिहान ९ बजे घडीअर्वाको सत्या चलचित्र भवन अगाडी दुवैपक्षको प्रदर्शनका कारण स्थिति तनावपूर्ण भएपछि प्रहरीले हस्तक्षेप गरी लाठी चार्ज गरेको छ । प्रहरीको लाठीचार्जबाट वाइसीएलका केन्द्रीय सदस्य धर्ती चौधरी र अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य रामबहादुर बैठालगायत चार जना माओवादी कार्यकर्ता घाइते भएका छन् । बीरगन्जमा सम्भावित झडपलाई मध्यनजर गरी बाक्लो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

त्यस्तै बाराको सिमरामा आज बिहान यात्रु ओसारेको भन्दै लायन्स क्लब अफ चन्द्रनिगाहपुरको ना २ च ८६१ नम्बरको एम्बुलेन्स माओवादी कार्यकर्ताहरुले नियन्त्रणमा लिएका छन् ।


Send To Friend | Printer Friendly Version | Comments: 0