दिनदहाडै व्यापारी दम्पतीको गोली हानी हत्या

[ 24th of June ]

तियारधारी समूहले दिनदहाडै बुटवलमा व्यापारी दम्पतीको गोली हानी हत्या गरेको छ।

बुटवलको जेसिज चोकस्थित विष्णु भण्डारी स्टोस्रमा बुधबार अपराहृन साढे ३ बजे लु७प ५७२३ नम्बरको पल्सर मोटरसाइकलमा आएका तीन व्यक्तिले पसलमा बसिरहेका व्यापारी दम्पतीलाई गोली प्रहार गरी हत्या गरेका हुन्। गोली प्रहारबाट ३८ वर्षीय रमेश भण्डारी र उनकी श्रीमती ३३ वर्षीया आशाको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन्।

प्रत्यक्षदर्शीका अनुसार पसलअगाडि मोटरसाइकल रोकेर पसलभित्र पसेका एक व्यक्तिले पसलमा रहेको रकम कब्जामा लिई भण्डारी दम्पतीलाई गोली प्रहार गरेका थिए। गोली प्रहार गरी उनीहरु मोटरसाइकल चढेरै ट्राफिक चोकतिर भागेका थिए। मृतक रमेशको छाती र कोखामा तथा श्रीमती आशाको घाँटीमा २-२ गोली लागेको छ।

घटनास्थलबाट इलाका प्रहरी कार्यालय बुटवल करिब २ सय मिटरको दूरीमा छ। घटनास्थलबाट त्यत्तिकै दूरीमा ट्राफिक चोकस्थित प्रहरीचौकी छ भने ५० मिटरको दूरीमा रहेको पुनरावेदन अदालतमा समेत सुरक्षाकर्मी तैनाथ छन्। तर प्रहरी घटनालगत्तै पुग्न नसकेको भन्दै व्यवसायीहरु आक्रोशित भएका छन्। प्रहरीस्रोतले भने मंगलबार राति मोतीपुरमा कुटपिटबाट हत्या गरिएका राजकुमार कुमालका अभियुक्त खोज्न सुरक्षाकर्मी त्यसतर्फ परिचालन भएकाले घटनास्थलमा पुग्न केही ढिलाइ भएको दाबी गरेको छ।

उता बुधबार मात्रै रुपन्देही जिल्ला प्रहरी प्रमुखमा सरुवा भई आउनुभएका प्रहरी उपरीक्षक शेरबहादुर बस्नेतलाई स्वागत गर्न बुटवलका प्रनाउ दानबहादुर कार्की भैरहवा जानुभएको थियो। सोही समयमा बुटवलमा घटना भएको हो। स्थानीय प्रत्यक्षदर्शी कानुन व्यवसायी शर्मलाल पन्थीका अनुसार आक्रमणकारीहरु मधेसी मूलका जस्ता थिए।

घटनापछि बुटवलको सुरक्षा व्यवस्था कडा पारिए पनि प्रहरीले अहिलेसम्म अभियुक्तलाई पक्राउ गर्न सकेको छैन। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बुटवलका चोक र चारैतिरका नाका बन्द गरी गोली हान्ने समूहको खोजी भइरहेको जानकारी दिनुभयो।

मृतक भण्डारी दम्पतीको शव पोस्टमार्टमका लागि अहिले लुम्बिनी अञ्चल अस्पताल बुटवलमा राखिएको छ। शवको पोस्टमार्टम बिहीबार हुने भएको छ। उहाँहरुका १० र ८ वर्षीय गरी दुई नाबालक छोरा रहेका छन्।

घटनाको विरोधमा बुटवलका व्यवसायीहरु आन्दोलित भएका छन्। रुपन्देही व्यापार संघ र बुटवल उद्योग वाणिज्य संघले बिहीबार बुटवल बजार उद्योग कलकारखाना बन्दको आहृवान गरेको छ। दिउँसो १२ देखि २ बजेसम्म दुई घण्टा यातायात समेत बन्द गरिने उद्योग वाणिज्य संघका अध्यक्ष शंकर श्रेष्ठ र व्यापार संघका अध्यक्ष पोखरेलद्वारा अलग-अलग रुपमा जारी विज्ञप्तिमा जनाइएको छ। अपराधी पत्ता लगाई पक्राउ गर्न र व्यवसायीहरुको शान्ति सुरक्षाको ग्यारेन्टी गर्न दबाब दिने उद्देश्यले बन्द आहृवान गरिएको विज्ञप्तिमा उल्लेख छ।

प्रत्यक्षदर्शीको भनाइ
भण्डारीको पसलको सामान गाडीबाट लोड-अनलोड गर्दै आएका कामदार जीवराज अर्यालले घटना हुँदा तीन जना आएका र गोली हान्नेले टाउकोमा रुमाल बाँधेको देखेको बताएका छन्।
‘गोली लागी साहू-साहूनी ढलेपछि गोली हान्नेलाई पक्रन जाँदा उल्टै ममाथि पेस्तोल ताके’ अर्यालले भने। गोली हान्ने व्यक्तिले पसलको घर्रामा भएको पैसा कम्मरमा पेटीजस्तै बाँध्ने झोलामा हालेर लगेको पनि उनले बताए। मधेसी मूलका जस्ता देखिने ती व्यक्तिले घाँटीमा राधे-राधे लेखेको गाम्छा ओढेको प्रत्यक्षदर्शी कानुन व्यवसायी शर्मलाल पन्थीले बताए।

गोली हान्ने व्यक्तिले सेतो टिसर्ट र कालो पाइन्ट लगाएको र कालो पल्सर मोटरसाइकलमा तीनै जना चढी भागेको पन्थीले बताए। उता भण्डारी दम्पतीलाई गोली हानी हत्या गर्ने व्यक्तिले प्रयोग गरेको मोटरसाइकल व्यक्तिको नभएको थाहा भएको छ।

Send To Friend | Printer Friendly Version | Comments: 0