लागुऔषधको कारोवारमा संलग्न रहेको अभियोगमा कारागारमा १२ वर्ष कैद सजाय काटिरहेका व्यक्ति अदालतको कीर्ते आदेश बनाएर छुटेको खुलासा भएको छ।
कीर्ते कागजपत्र बनाउन सक्रिय समुहको खोजीमा खटिएको प्रहरीले तीन दिन अगाडि डिल्लीबजारबाट पक्राउ गरेका खड्गबहादुर नेपाली जिल्ला अदालत हेटौडाले १२ वर्ष कैद सजाय सुनाएको कैदी रहेको खुलेको हो।
महाशाखाका अधिकारीका अनुसार अनुसन्धानको क्रममा नेपालीले पुनरावेदन अदालत हेटौडाको नक्कली आदेश पत्र बनाएर रामेछाप जिल्ला कारागारबाट मुक्त भएको खुलेको छ।
प्रहरीस्रोतका अनुसार कैद सजाय तोकिएपछि केही समय भिमफेदी कारागारमा बसेका उनलाई २०६६ को प्रारम्भमा डिल्लीबजार कारागार स्थानान्तरण गरिएको थियो।
डिल्लीबजार कारागारवाट २०६६ भदौ १४ गते रामेछाप जिल्ला कारागार स्थानान्तरण हुँदा उनले पुनरावेदन अदालतको नक्कली आदेश पत्र कारागार पठाएर दोस्रो दिन रिहा भएका थिए।
प्रहरीस्रोतका अनुसार पुनरावेदन अदालत हेटौडाको आदेश पत्रमा 'निजले लागूऔषध बिक्री नगरी सेवन मात्र गरेको देखिएकाले जिल्ला अदालतको फैसला त्रुटीपूर्ण रहेको उल्लेख गर्दै सजाय कम गरी एक वर्ष तोकिएको थियो। आदेश पत्रमा नेपाली तीन वर्षदेखि कारागारमा रहेकाले तत्काल रिहा गर्न आदेश दिएकाले उनी भदौ १५ गते नै कारागारमुक्त भएका थिए।
प्रहरीस्रोतका अनुसार कारागारमुक्त भए लगत्तै उनले आफ्नो पहिचान लुकाउन आफ्नो तस्विर टाँसेर थापाको नाममा नागरिकता, सवारीचालक अनुमति पत्र र प्रवेशिक परिक्षाको शैक्षिक प्रमाण पत्र समेत बनाएका थिए। महाशाखा प्रहरीका अनुसार थापाकै नाममा राहदानी बनाएर विदेश भाग्ने तयारीमा रहेको बेला उनी पक्राउ परेका थिए।
कारागारका बन्दीका विषयमा आदेश जारी गर्दा अदालतले फैसलाको पूर्णपाठ सहित पठाउने गरेपनि कारागारले भने केवल पत्रको आधारमा रिहा गरेको खुलेपछि प्रहरीले नेपालीलाई थुनामुक्त गर्न कारागार प्रशासनका केही ब्यक्ति समेत संलग्न रहेको आशंका गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका नेपालीलाई प्रहरीले सरकारी छाप कीर्तेको अभियोगमा अनुसन्धान अगाडि बढाएको छ। पुनरावेदन अदालतमा पत्रको पुष्टी गर्ने क्रममा आदेश नक्कली भएको खुलेकाले किर्तेको अनुसन्धानपछि उनलाई कारागार पठाउने तयारी गरिएको परिसर अधिकारीले बताए।
महाशाखाका प्रहरी अधिकारीका अनुसार उपत्यकाका नक्कली नागरिकता बनाउने गिरोह सक्रिय रहेको सूचनाको आधारमा गिरोहको खोजीमा खटिएको प्रहरी टोलिले गोपाल कुमार थापाको नामको नागरिकता सहित नेपालीलाई पक्राउ गरेको थियो।
प्रहरीले प्रारम्भमा पक्राउ परेका ब्यक्ति थापानै रहेको भन्दै अनुसन्धान अगाडि बढाउंदा सक्कल नागरिकतामा रहेको तस्विर र अभियुक्तसंग बरामद भएको नागरिकताको तस्विर नमिलेपछि उनी गोपालकुमार थापा नभई नेपाली रहेको खुलेको छ।
महाशाखास्रोतका अनुसार नेपालीको बारे थप अनुसन्धान अगाडि बढाउँदा उनी २०६३ सालमा हेटौडामा २५ ग्राम खैरो हेरोइन सहित पक्राउ परी जिल्ला अदालतले १२ वर्ष सजाय तोकिएका कैदी रहेको खुलेको थियो।