दलित महिलासँग शारिरीक सम्बन्ध राखेको भन्दै परिवारलाई नै गाउँ निकाला
[ 20th of December ]
दलित महिलासँग शारिरीक सम्बन्ध राखेको भन्दै कालिकोटको बदालकोट गाविस काँडगाउँका एकै घरका चारजनालाई गाउँ निकाला गरिएको छ।
सदरमुकामबाट १० कोष टाढा पर्ने काँडागाउँका कालिबहादुर बोगटीले दलित महिलासँग सम्बन्ध राखी छोरा जन्माएको भन्दै गाउँलेले बच्चा जन्मिएको छ वर्षपछि उनको घरपरिवारलाई गाउँ निकाला गरेका हुन्।
बोगटीको परिवार गाउँमा बस्दा देवताले आफूहरुलाई नराम्रो गर्ने भन्दै गाउँलेले उनीहरुलाई गाउँ निकाला गरेको बताइएको छ। गाउँ निकाला हुनेहरुमा कालिबहादुरका बुबाआमा र भाइबहिनी रहेका छन्।
उनीहरु गत मङ्सिरदेखि कर्णाली नदीको किनारामा पर्ने रुच्कास्थित एक गोठमा बस्दै आएका छन्। छोरो जन्मिएको एक महिनापछि बोगटी भारत गएपछि श्रीमती गौरा लुवारले अर्को विवाह गरिसकेकी छन् भने बोगटीले पनि भारतमा दोस्रो विवाह गरेका आफन्तले बताएका छन्। यद्यपि, सो परिवार गाउँमा बस्दा बुढापाका र आफन्तले नराम्रो ठान्ने भएकाले गाउँभन्दा टाढा राखिएको छिमेकी दीपबहादुर बोगटीले बताए।