ठमेल होस्टलमा अनलाइनबाट जुवा खेलाउँदै गरेका दुई जनालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाग्लुङ थाईवाङ घर भई हाल काठमाडौं-२६ बस्ने ठमेल होस्टलका सञ्चालक राकेशकुमार क्षेत्री र भारत दिल्ली तिलकनगर घर भई हाल काठमाडौं-२६ बस्ने भारतीय नागरिक जसपाल सिंह छन्।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई होस्टेलको पाँचौं तलाबाट मंगलबार पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार उनीहरूबाट अनलाइन जुवासम्बन्धी नगद, चेक, बैंक भौचरलगायत बरामद गरिएको छ।

जुवा खेलाइएको कोठाबाट प्रहरीले १ लाख ५५ हजार नगद बरामद गरेको छ।

यसैगरी, सानिमा बैंकको ७४ हजारको चेक, कुमारी बैंकको पाँच लाख ६५ हजार रुपैयाँको भौचर, इन्भेष्टमेन्ट बैंकको भौचर १८ लाख ४९ हजार, वाणिज्य बैंकको ३२ हजारको भौचर, सानिमा बैंकको दुई लाख र आइएमइबाट कारोबार गरेको पचास हजार रुपैयाँको भौचर बरामद भएको छ।