केन्द्रीय तथ्यांक विभागले बुधबार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । जसअनुसार कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ ।

यो १० वर्ष अगाडि २०६८ को तुलनामा २६ लाख ९७ हजार ९ सय ७६ जना बढी हो । जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत मात्र रहेको नेपालमा कुल ५६ लाख ४३ हजार ९ सय ४५ वटा घर रहेको पाइएको छ । यी घरमा कुल ६७ लाख ६१ हजार ५९ वटा परिवार बसोबास गर्छन् ।

अर्थात् प्रत्येक १ सय वटा घरमा १२० वटा परिवारको बसोबास रहेको देखिएको छ । १० वर्ष अगाडि एक सय वटा घरमा ११८ जना परिवार बसोबास गर्ने गरेको देखिएको थियो । पछिल्लो १० वर्षमा परिवार संख्या मात्र १३ लाख ३३ हजार ५ सय ३१ (२४.५७ प्रतिशत) थप भएको छ ।

कुल जनसंख्यामा १ करोड ४२ लाख ९१ हजार ३ सय ११ जना (४८.९६ प्रतिशत) पुरुष छन् । महिलाको संख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ (५१.०४ प्रतिशत रहेको छ । नयाँ तथ्यांक अनुसार १ सय महिलाको अनुपातमा ९५.९१ जना पुरुष देखिन्छ ।

  • कुल जनसंख्या : २ करोड ९१ लाख ९२ हजार ४ सय ८०
  • पुरुष : १ करोड ४२ लाख ९१ हजार ३ सय ११ जना (४८.९६ प्रतिशत)
  • महिला : १ करोड ४९ लाख १ हजार १ सय ६९ (५१.०४ प्रतिशत)

केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार यो तथ्यांकमा दार्चुला जिल्लाका लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसंख्या समेत यसमा समेटिएको छ ।

प्रारम्भिक नतिजाका तथ्यांकहरु पूर्ण नतिजा आउँदा परिवर्तन हुन सक्छन् । यस्तो आंकडा एक देखि दुई प्रतिशतसम्म तलमाथि पर्न सक्ने उनले जानकारी दिए । प्रारम्भिक नतिजालाई व्याख्या गर्ने गरी विस्तृत नतिजामा समेटिने उनको भनाइ छ ।

  • नेपालमा घर संख्या : ५६ लाख ४३ हजार ९४५
  • परिवार संख्या : ६७ लाख ६१ हजार ०५९
  • जनगणना घर र परिवारको अनुपात : १ः १.२०
  • १० वर्षमा थप भएको परिवार संख्या : १३ लाख ३३ हजार ५५७

एक परिवारमा ४.३२ जना सदस्य

तथ्यांकअनुसार नेपालमा प्रतिपरिवार ४.३२ जना सदस्य रहेको देखिएको छ । २०६८ सालमा प्रतिपरिवार ४.८८ जना सदस्य रहेका थिए ।

प्रदेशगत रुपमा हेर्दा गण्डकी प्रदेशमा एक परिवारमा औसत ३.६६ जना सदस्य रहेका छन् । मधेश प्रदेशमा सबैभन्दा बढी ५.१५ जना सदस्य रहेको देखिन्छ । जिल्ला अनुसार दोलखामा प्रतिपरिवार औसत ३.४१ जना सदस्य र रौतहट, बारा, कपिलवस्तुमा औसत ५.५० जना सदस्य रहेको देखिन्छ ।

भौगोलिक रुपमा हेर्दा हिमाली भेगमा प्रतिपरिवार ४.२७, पहाडमा ३.९५ र तराईमा ४.६५ जना रहेका छन् । शहरी क्षेत्रमा औसतः ४.२५ जना र ग्रामीण भेगमा ४.५५ जना एक परिवारमा रहेको देखिएको छ ।

विदेशमा बस्ने संख्या २१ लाख ६९ हजार

तथ्यांकअनुसार अक्सर विदेशमा बस्ने जनसंख्या २१ लाख ६९ हजार ४ सय ७८ जना रहेको देखिएको छ । यो संख्या परिवारबाट अलग भई विदेशमा बसोबास गरेकाहरुको हो ।

यसमा पुरुष ८१.२८ प्रतिशत र महिला १८.७२ प्रतिशत रहेको छ । २०६८ सालमा यस्तो जनसंख्या १९ लाख २१ हजार ४ सय ९४ रहेको थियो ।

त्यसबेला पुरुषको संख्या ८७.६४ प्रतिशत रहेकोमा पछिल्लो १० वर्षमा महिलाहरु विदेशिने क्रम बढेको देखिएको छ । २०६८ को तुलनामा ७१.०९ प्रतिशत बढी महिला विदेशिएका हुन् । तराईबाट सबैभन्दा बढी विदेशिएका छन् ।

  • अक्सर विदेशमा बस्ने जनसंख्या : २१ लाख ६९ हजार ४ सय ७८
  • पुरुष : १७ लाख ६३ हजार ३ सय १५ (८१.२८ प्रतिशत)
  • महिला : ४ लाख ६ हजार १ सय ३ (१८.७२ प्रतिशत)
  • विदेशिने महिलाको संख्या : ७१.०९ प्रतिशत
  • तराईबाट विदेशिने : १० लाख ६५ हजार ९ सय ६९
  • पहाडबाट विदेशिने : ९ लाख ८४ हजार ८ सय ९६
  • हिमालबाट विदेशिने : १ लाख १८ हजार ६ सय १३

तराईमा आधा भन्दा बढी जनसंख्या, पहाड र हिमालमा घट्दै

भौगोलिक विभाजन अनुसार तराई भेगमा जनसंख्याको आधा भन्दा बढी जनसंख्या रहेको देखिएको छ । तथ्यांक अनुसार तराईमा १ करोड ५६ लाख ६५ हजार ८ सय २८ जना मानिस रहेका छन् ।

यो कुल जनसंख्याको ५३.६६ प्रतिशत हो । २०६८ मा यहाँ मात्र ५०.२७ प्रतिशत जनसंख्या थियो । पहाडमा १ करोड १७ लाख ४८ हजार ५ सय ४८ जना बसोबास गर्छन् । यो कुल जनसंख्याको ४०.२५ प्रतिशत हो । हिमाली भेगमा १७ लाख ७८ हजार १ सय ४ जना मानिस बस्छन् । यो कुल जनसंख्याको ६.०९ प्रतिशत हो ।

  • तराईको जनसंख्या : १ करोड ५६ लाख ६५ हजार ८ सय २८ (५३.६६ प्रतिशत)
  • पहाडको जनसंख्या : १ करोड १७ लाख ४८ हजार ५ सय ४८ (४०.२५ प्रतिशत)
  • हिमालको जनसंख्या : १७ लाख ७८ हजार १ सय ४ (६.०९ प्रतिशत)

मधेश प्रदेशमा उच्च जनसंख्या, कर्णालीमा कम

तथ्यांक अनुसार जनसंख्या सबैभन्दा बढी मधेश प्रदेशमा पाइएको छ । मधेश प्रदेशमा २०.९९ प्रतिशत र कर्णालीमा ५.८१ प्रतिशत जनसंख्या रहेको छ । बागमतीमा २०.८४ जनसंख्या छ । जनसंख्याको हिसाबले तेस्रो, थौचो, पाँचौ र छैठौंमा क्रमशः लुम्बिनी, प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेश छन् ।

  • प्रदेश १ : ४९ लाख ७२ हजार २१ (१७.०३ प्रतिशत)
  • मधेश प्रदेश : ६१ लाख २६ हजार २ सय ८८ (२०.९९ प्रतिशत)
  • बागमती प्रदेश : ६० लाख ८४ हजार ४२ (२०.८४ प्रतिशत)
  • गण्डकी प्रदेश : २४ लाख ७९ हजार ७ सय ४५ (८.४९ प्रतिशत)
  • लुम्बिनी प्रदेश : ५१ लाख २४ हजार २ सय २५ (१७.५५ प्रतिशत)
  • कर्णाली प्रदेश : १६ लाख ९४ हजार ८ सय ८९ (५.८१ प्रतिशत)
  • सुदूरपश्चिम प्रदेश : २७ लाख ११ हजार २ सय ७० (९.२९ प्रतिशत)

शहरमा बस्ने जनसंख्या बढ्यो

राजनीतिक परिवर्तनपछि आएको संघीय संरचनाबाट स्थानीय तहको व्यवस्था भएपछि नेपालमा शहरी जनसंख्या भने बढेको देखिएको छ । देशभर रहेका २९३ वटा नगरपालिकामा रहेको जनसंख्यालाई शहरी र ४६० गाउँपालिकामा रहेको जनसंख्यालाई ग्रामीण मानिएको छ ।

यस जनगणनाबाट शहरी जनसंख्या ६६.०८ प्रतिशत र ग्रामीण जनसंख्या ३३.९२ प्रतिशत पुगेको छ । २०६८ सालमा ५८ वटा मात्र नगरपालिका थिए । सो आधारमा उक्त जनगणनामा १७.०७ प्रतिशत शहर र ८२.९३ प्रतिशत मानिस ग्रामीण जनसंख्या रहेको तथ्यांक आएको थियो ।

  • शहरी जनसंख्या : १ करोड ९२ लाख ९१ हजार ३१ (६६.८ प्रतिशत)
  • ग्रामीण जनसंख्या : ९९ लाख १ हजार ४ सय ४९ (३३.९२ प्रतिशत)

हिमाली जिल्लामा कम जनसंख्या, बढी काठमाडौंमा

नेपालमा ७७ वटा जिल्ला रहेकोमा सबैभन्दा बढी जनसंख्या काठमाडौंमा रहेको छ । काठमाडौं जिल्लाको जनसंख्या २० लाख १७ हजार ५ सय ३२ जना रहेको छ । सबैभन्दा कम मनाङमा ५ हजार ६ सय ४५ जना रहेको छ ।

मोरङ, रुपन्देही, झापा र सुनसरी जिल्ला दोस्रो, तेस्रो, चौथो र पाँचौ धेरै जनसंख्या भएका जिल्ला हुन् । कम जनसंख्या भएका जिल्ला मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थानमा पर्छन् ।

सबैभन्दा कम जनसंख्या

  • मनाङ : ५ हजार ६ सय ४५
  • मुस्ताङ : १४ हजार ५ सय ९६
  • डोल्पा : ४२ हजार ९ सय ५९
  • रसुवा : ४५ हजार ५ सय ५४
  • हुम्ला : ५५ हजार ४ सय ९६

धेरै जनसंख्या भएका जिल्ला

  • काठमाडौं : २० लाख १७ हजार ५ सय ३२
  • मोरङ : ११ लाख ४७ हजार १ सय ८६
  • रुपन्देही : ११ लाख १८ हजार ९ सय ७५
  • झापा : ९ लाख ९४ हजार ९०
  • सुनसरी : ९ लाख ३४ हजार ४ सय ६१

बसाइसराई बढी हुने जिल्लामा बढ्दो जनसंख्या

तथ्यांक अनुसार बसाइसराई अत्यधिक रहेका जिल्लामा जनसंख्याको वृद्धिदर समेत बढी देखिएको छ । यो जनगणनाबाट जनसंख्या बढी वृद्धिदर रहेको जिल्ला भक्तपुर देखिएको छ । यहाँ ३.३२ प्रतिशतको जनसंख्या वृद्धिदर छ ।

रुपन्देहीको २.३०, चितवनको २.१०, बाँकेको १.९७ र सुनसरीको १.९४ प्रतिशत जनसंख्या वृद्धिदर देखिएको छ । यी तुलनात्मक रुपमा बढी बसाइसराईमा आकर्षण भएका जिल्ला हुन् । कम वृद्धिदर भएका जिल्लामा भने रामेछाप –१.६५, खोटाङ –१.५६, मनाङ –१.४१, भोजपुर –१.३२ र तेह्रथुममा –१.२६ प्रतिशतको गिरावट देखिन्छ ।

जनघनत्व १९८ जना प्रति वर्गकिलोमिटर

जनसंख्याको कुल संख्यामा भएको बढोत्तरीले जनघनत्व भने बढेको देखिएको छ । जनगणनाको प्रारम्भिक नतिजा अनुसार जनघनत्व १९८ रहेको छ । २०६८ सालमा जनघनत्व १८० जना रहेको थियो । जनघनत्व तराईमा ४६१, पहाडमा १९२ र हिमालमा ३४ रहेको छ ।

प्रदेश अनुसार सबैभन्दा बढी जनघनत्व मधेश प्रदेशमा ६३६ रहेको छ । बागमती प्रदेशमा ३ सय रहेको छ । लुम्बिनीमा २३०, प्रदेश १ मा १९२, सुदुरपश्चिममा १३६, गण्डकीमा ११६ र कर्णाली प्रदेशमा ६१ जना रहेको तथ्यांक आएको छ । जनघनत्व प्रति एक वर्गकिलोमिटरमा बसोबास गर्ने जनसंख्याको औसत हो ।