११ दिनमा ५३ जनाले गुमाइसके ज्यान

कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोन घरघरमा पुगेको छ । सरकारी तथ्यांकमा दैनिक १०/१२ हजार नयाँ संक्रमित थपिएका छन् भने परीक्षण नै नगरी बस्नेहरुको संख्या यो भन्दा ठूलो मानिएको छ । किनकी आमबुझाइ छ, ओमिक्रोन घातक छैन, रुघाखोकी जस्तै हो ।

अस्पतालहरुको दृश्यले भने कोरोना महामारीमा लापरबाही नगर्न चेतावनी दिइरहेको छ । किनकी अस्पतालहरूका सघन उपचार कक्षमा चाप बढ्दो छ र कोरोना संक्रमणका कारण भएको मृत्यु पनि क्रमशः उकालो लागेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार देशभर १ माघमा ११९ जना आईसीयूमा उपचाररत थिए, जुन संख्या १० दिन ( ११ माघ) सम्ममा बढेर २४५ पुगेको छ । साथै भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्नेको संख्या पनि बढ्दो छ ।

कोरोना संक्रमितको मृत्यु पनि केही दिनयता बढिरहेको छ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ८ जनाको निधन भएको छ । माघ ८ मा एकैदिन १६ जनाको मृत्यु भएको थियो भने माघ महिनाको ११ दिनमा ५३ जनाले ज्यान गुमाइसकेका छन् ।