सोनाम लामाले आफ्नै चार करोड खर्चेर मुक्तिनाथ मन्दिर परिसर चम्काउँदै

किरण बुढाथोकी /काठमाडौं
पछिल्लो समय अशोक दर्जीको ‘धन ठूलो कि, मन ठूलो’ भन्ने गीतले सबैको मनमस्तिष्क गुञ्जायषमान छ । अशोकको यो गीतले सबैको मन तानेको छ । यो गीतले सबैलाई भावुक बनाएको छ । हो, यो गीतले सबैको मन तानेजस्तै समाजलाई परिवर्तन गर्ने हो भने धनसँगै मन पनि ठूलो हुनुपर्छ भन्ने कुराको पुष्टि एक गैरआवासीय नेपाली अभियन्ताले गर्नुभएको छ ।

धन मात्र छ तर मन छैन भने त्यहाँ धनले खासै अर्थ नराख्न पनि सक्छ । तर धन र मन दुवै ठूलो भएका ब्यक्तिहरुले समाजमा ठूलो योगदान गर्न सक्छन् भन्ने उदाहरणीय काम गरेर गैरआवासीय नेपाली अभियन्ता सोनाम लामाले सबैलाई गतिलो पाठ सिकाउनुभएको छ । लामाले मुस्ताङको मुक्तीनाथ मन्दिर परिसरभित्र आफैले करिव चार करोड रुपैयाँ खर्चेर मन्दिर परिसरको मुहारमा परिर्वतन गर्दै सो पाठ सिकाउनुभएको हो । लामा विगत चार वर्षदेखि मन्दिर परिसरलाई चम्काउने अभियानमा जुट्दै आउनुभएको छ ।

मुस्ताङमा जन्मिए पनि अहिले अमेरिका बस्दै आउनुभएको सोनाम गैरआवासीय नेपाली संघको अभियानमा लामो समयदेखि क्रियाशील रहँदै आउनुभएको छ । थोरै बोल्ने स्वभावको सोनाम कामलाई बढी विश्वास गर्नुहुन्छ । बोलेर होइन काम गरेर देखाउनुुपर्छ भन्ने भावना राख्ने लामाले एनआरएन स्थापना भएपछि विभिन्न भुमिकामा रहेर काम गरिसक्नु भएको छ । एनआरएन अमेरिकाज् क्षेत्रको क्षेत्रीय सहसंयोजक डिआरसी हुँदै आरसी पद्को जिम्मेवारी निकै इमानदारीपूर्वक निर्वाह गरिसक्नु भएको छ । एनआरएनको यसअघिको आठौ विश्व सम्मेलनमा लामा उपाध्यक्षको उम्मेदवारसमेत हुनुहुन्थ्यो । हाल एनआरएनको कुनै भुमिकामा नरहे पनि लामाको सामाजीक सेवा गर्ने बाटो भने रोकिएको छैन ।यतिखेर मुस्ताङको मुक्तिनाथ मन्दिर पुग्ने पर्यटकको संख्या खचाखच भइरहेको समाचार सुनिरहँदा मन्दिर परिसरभित्र उनै सोनाम लामाले निर्माण गर्नुभएको बुद्धको मूर्ति, विभिन्न संरचनाले उहाँको योगदानको मुक्तकण्ठले प्रसंसा भइरहेको छ ।
सन् २०१४ मा मन्दिर परिसरभित्र मन्दिर विकास समितिको स्वीकृती लिई लामाले शूरुमा बुद्धको मूर्ति बनाउने योजना बनाउनुभयो । ‘लुम्बिनी टु मुक्तीनाथ’ अवधारणलाई अगाडि सार्दै आफनै प्रयासमा मूर्ति निर्माण गर्ने काम लामाले शूरु गर्नुभयो । आफूले इमानदारीपूर्व कमाएको धन समाजसेवा तथा धार्मिक क्षेत्रमा लगाउने उहाँमा भित्रैदेखिको इच्चा थियो । लामाले जुन इच्चा तथा जोश जाँगरलाई शाकार तुल्याउन निरन्तर लागिपरिरहनु भयो ।
आफनो योजनामा सपरिवारको साथ पाएपछि लामाले मन्दिर परिसरभित्रको करिब ६ रोपनी क्षेत्रफलमा बुद्धको ३५ फिटको मूर्ति बनाउने निधो गर्नुभयो । विश्वमा नभएको र अहिलेसम्म कसैले पनि नबनाएको बुद्धको मुर्ति बनाउने योजना बनाएर लामाले काठमाडौंमा ढुंगाले कुँदेर बनाएको मूर्ति बनाउन शूरु गर्नुभयो । ढुंगाले कुँदेर बनाएको मूर्तिलाई विभिन्न समयमा गरि १३ वटा ट्रकमा राखेर लगी अहिले मन्दिर परिसरमा बुद्धको मूर्ति खडा गरिसक्नु भएको छ ।

आफनै लगानीमा निर्माण गर्नुभएको सो मूर्ति शूरुमा करिब १ करोड ४० लाख लागत अनुमान गरिएको थियो । तर मूर्ति खडा गरिसक्दा यसको लागत बढ्न गयो । अहिले मूर्तिको लागत करिब १ करोड ९० लाख पुगेको लामा बताउनुहुन्छ । सरकारीस्तरबाट औपचारिक रुपमा उद्घाटन नभए पनि लामाले शूरु गर्नुभएको निर्माण कार्य पूरा भएको छ । अब परिसरभित्र गार्डेन बनाउने काम थालीएको लामाले बताउनुभयो ।

बुद्ध मूर्तिसँगै पार्क पनि बनाइएको छ । मूर्तिसँगै धौलागिरी हिमाल देखिने गरि मनोरम दृश्यलाई सो ठाउँबाट कैद गर्न सक्ने गरि बनाइएको छ । लामाले स्वीकृत लिनुभएको करिब ६ रोपनी क्षेत्रफलभित्र झरना, बगैचा, नौ वटा ढुंगे पानी धारा, पाँच वटा स्तुपा बनाइएको छ । लामाले सो स्तुपा आफना परिवारको नाममा बनाउनुभएको छ । आफू, धर्मपत्नी, एक छोरा र दुई छोरीको नाममा पाँच वटा स्तुपा निर्माण गरिएको हो । लामाले सपरिवारको साथ पाएर नै यत्ती ठूलो काम गर्न सफल भएपछि स्तुपा सपरिवारको नाममा खडा गरिएको बताउनुभयो ।

लामाले विगत चार वर्षदेखि निर्माण कार्य गर्न शूरु गरेको भए पनि भूकम्पले गर्दा ढिलाई भएको बताउनुभयो । निर्माणको सम्पूर्ण कार्य सम्पन्न भएकाले आगामी वर्षको बुद्ध जयन्तीको अवसर पारेर औपचारिक रुपमा उद्घाटन गरिने योजना रहेको लामाले बताउनुभयो । विशेष गरि मुक्तिनाथ धार्मिक क्षेत्रभित्र हिन्दु र बौद्धको मिश्रण भएपछि सबै खालका पर्यटक आउँछन भन्ने उद्देश्यले नै बुद्ध मूर्ति खडा गरिएको उहाँले बताउनुभयो । ‘यहाँ धेरैजसो हिन्दुहरु आउने गर्नुहुन्छ । यो मूर्ति खडा भएपछि विश्वभरीका बौद्ध धर्मालम्बीहरु आउन थाल्नु भएको छ’, लामाले भन्नुभयो, ‘अहिले दैनिक चार हजार पर्यटक पुगेका छन । आगामी वर्षदेखि दैनिक दसौ हजार पर्यटक पुग्नेछन ।’
आफनो योजना नै ‘लुम्बिनी टु मुक्तिनाथ’ भएको बताउँदै धार्मिक पर्यटन प्रबद्र्धनको लागि यस्तो काम गरेको उहाँले बताउनुभयो । ढुंगाले नै कुँदेर बनाइएको सो मूर्ति १३ वटा ट्रकमा राखेर लगीएको थियो । मूर्ति ७५ टन भन्दा बढी छ । मूर्तिको टाउको मात्र सात फिट अग्लो छ । मूर्ति जम्मा ३५ फिट अग्लो रहेको लामाले बताउनुभयो ।
करिब चार करोड लागतमा मूर्ति लगायतका संरचना निर्माणमा खर्च भइसकेको लामाले जानकारी दिनुभयो । ‘काम सबै सम्पन्न भइसकेको छ । विरुवा रोप्ने र बगैचा बनाउने काम बाँकि छ, यो काम अब शूरु गछौ’, लामाले भन्नुभयो, ‘आगामी बुद्ध जयन्तीको दिन औपचारिक रुपमा उद्घाटन गर्ने योजना छ ।’

त्यस्तै, एनआरएन अभियन्ता लामाले निर्माण गर्नुभएको मूर्तिको गण्डकी प्रदेशका मुख्यमन्त्री पृश्वीसुब्बा गुरुगंले अवलोकन गर्नुभएको छ । अभियन्ता लामासँगै मुख्यमन्त्रीसहित सिडियो, प्रहरी प्रमुख, सांसदहरुको टोलीले अवलोक गर्दै सो कार्यको खुलेर प्रशंसा गर्नुभएको छ । मुख्यमन्त्री गुरुगंले मुक्तिनाथ मन्दिर परिसरमा फेरिएको परिवर्तनले आफूलाई निकै खुसी र गौरवान्भित महसुस गराएको बताउनुभएको थियो ।